spot_img

सीमित स्रोत भए पनि खेलाडीको सम्मानमा कमी आउन दिँदैनौँ : मन्त्री पोखरेल

spot_img
spot_img

काठमाडौं,०७ जेठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सीमित स्रोत र साधनका बाबजुद खेलाडीको सम्मान र खेलकुद क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई बिहीबार बिदाइ गर्दै मन्त्री पोखरेलले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले निरन्तर प्रयास गरिरहेको बताए ।

उनले पछिल्लो समय नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाएको प्रदर्शन प्रशंसायोग्य रहेको उल्लेख गर्दै त्यसले देशको प्रतिष्ठा बढाएको बताए । खेल क्षेत्रमा राज्यले अपेक्षाअनुसार लगानी र सहयोग गर्न नसकेको स्वीकार गर्दै उनले उपलब्ध स्रोतको अधिकतम उपयोगमार्फत खेलाडीको वृत्तिविकासमा सरकार लागिरहने बताए ।

मन्त्री पोखरेलले टोलीमा अनुभवी र नयाँ खेलाडीबीच राम्रो सन्तुलन रहेको भन्दै वरिष्ठ खेलाडीलाई नयाँ खेलाडीलाई मार्गदर्शन गर्न आग्रह गरे । साथै उनले चोटका कारण टोलीमा समावेश हुन नसकेका खेलाडीहरूको योगदानको पनि स्मरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

उनले खेलाडीहरूलाई उत्साहित बनाउँदै यसपटक उपाधि जितेर फर्किने विश्वास व्यक्त गरे । “तपाईंहरूले मैदानमा देखाएको मेहनत र आत्मविश्वासले नेपाली समर्थकमा आशा बढाएको छ,” उनले भने, “उत्कृष्ट प्रदर्शन गर्नुस्, जित सम्भव छ । टोली च्याम्पियन बनेर फर्किए विमानस्थलमा स्वागत गर्न म स्वयं उपस्थित हुनेछु ।”

बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय