सर्लाही,०७ जेठ । सर्लाहीको बागमती नगरपालिका–४ स्थित नगरपालिका चोकमा ट्रक र भारतीय नम्बर प्लेटको जिप एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार सबै घाइतेको अवस्था खतरामुक्त रहेको छ ।
बुधबार अपराह्न हरिवनबाट बागमतीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क १३७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको डिएल ४ सि एनबी ६२०० नम्बरको भारतीय जिप एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा जिप चालक कविलासी नगरपालिका–८ निवासी ५७ वर्षीय जयपाल राय घाइते भएका छन् । साथै ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका एकै परिवारका सात जना पनि घाइते भएका छन् ।
घाइते हुनेमा ५८ वर्षीय शिवशंकर हलुवाई, उनकी श्रीमती ५७ वर्षीया पुनमदेवी, छोरा ३४ वर्षीय सोनुप्रसाद, बुहारी ३३ वर्षीया अञ्जलीदेवी तथा नाति नौ वर्षीय कन्हैया र पाँच वर्षीय किसन रहेका छन् । शिवशंकरका अर्का छोरा ३० वर्षीय मनोज हलुवाई पनि दुर्घटनामा घाइते भएका छन् ।
घाइतेहरूको बागमती मोडेल अस्पताल कर्मैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीका अनुसार दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिइएको छ भने ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।



