काठमाडौं,०७ जेठ । भारतका प्रधानन्यायाधीश सूर्यकान्त ले ‘कक्रोच (साङ्लो)’ सम्बन्धी दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। सोही अभिव्यक्तिको विरोधस्वरूप ‘कक्रोच जनता पार्टी’ नामक नयाँ अभियान सुरु गरिएको छ, जसले छोटो समयमै व्यापक ध्यान आकर्षित गरेको छ।
महाराष्ट्रका अभिजीत दीपके द्वारा सुरु गरिएको यो अभियानले इन्स्टाग्राममा मात्र ५ दिनभित्रै १ करोड १७ लाखभन्दा बढी फलोअर्स बटुलिसकेको छ। यो संख्या निरन्तर बढिरहेको छ।
तुलनात्मक रूपमा, भारतीय जनता पार्टी (भाजपा) को इन्स्टाग्राममा करिब ८७ लाख र भारतीय राष्ट्रिय कांग्रेस को करिब १ करोड ३२ लाख फलोअर्स रहेका छन्।
कसरी सुरु भयो अभियान?
मे १५ मा एक मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरूलाई ‘कक्रोच’ सँग तुलना गरेको भन्ने समाचार सार्वजनिक भयो। यद्यपि, उनले भोलिपल्ट आफूले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्ट पारेका थिए।
यसै विषयलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि फैलिँदै जाँदा अभिजीत दीपकेले ‘कक्रोच जनता पार्टी’ नामक प्लेटफर्म सुरु गरेका हुन्। पार्टीको नारा छ— “धर्म निरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी”।
अभिजीत दीपके को हुन्?
अभिजीत दीपके हाल बोस्टन युनिभर्सिटी मा ‘पब्लिक रिलेसन’ विषयमा स्नातकोत्तर अध्ययनरत छन्। उनी सन् २०२० देखि २०२३ सम्म आम आदमी पार्टी को सामाजिक सञ्जाल टोलीमा स्वयंसेवकका रूपमा समेत काम गरिसकेका छन्।
बीबीसीसँगको कुराकानीमा उनले युवाहरूको असन्तुष्टि र आवाजलाई एकीकृत गर्न यो अभियान सुरु गरिएको बताएका छन्।
के चुनाव लड्ने योजना छ?
आगामी २०२९ को चुनावमा भाग लिनेबारे हालसम्म कुनै निश्चित निर्णय नभएको दीपकेले बताएका छन्। उनका अनुसार, यो अभियान अझै प्रारम्भिक चरणमा रहेको छ र भविष्यका कदमहरू युवाहरूको सुझावका आधारमा तय गरिनेछ।



