बीरगन्ज,०७ जेठ । बाराको प्रसौनी गाउँपालिकास्थित एक लाइटर उत्पादन गर्ने फैक्ट्रीमा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रसौनी–४ स्थित पशुपति लाइटर फैक्ट्रीमा बुधबार साँझ करिब साढे ७ बजे लाइटर भर्ने प्लान्टबाट ट्रलीमार्फत सामग्री सार्ने क्रममा ट्रली लडेर आगलागी सुरु भएको बताइएको छ।
आगलागीका कारण प्लान्टमा ठूलो क्षति पुगेको र प्रारम्भिक अनुमानअनुसार करिब २ करोड रुपैयाँ बराबरको नोक्सानी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र इलाका प्रहरी कार्यालय प्रसौनीले जनाएको छ। घटनापछि प्रहरी, फैक्ट्रीका कामदार तथा स्थानीय तहको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।



