spot_img

पेट्रोलियम पदार्थको कर घटाऊ, किसानलाई मल देऊ : सांसद अर्याल

spot_img
spot_img

काठमाडौँ,०७ जेठ । नेकपा एमाले सांसद पद्‌मा अर्यालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको भान्सादेखि ढुवानीसम्म थला परेको बताएकी छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा अर्यालले चर्को महँगी र मल अभावका कारण आम नागरिक र किसानहरू छटपटिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

सांसद अर्यालले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा इन्धनको मूल्य अत्यधिक हुनुको कारण सरकारले थोपरेको अनावश्यक र दोहोरो कर भएको दाबी गरिन्।

‘सङ्कटको बेला अभिभावक बन्नुपर्ने राज्य आफैँ किन व्यापारीजस्तो नाफामुखी बन्दैछ,’ अर्यालले भनिन्, ‘नागरिकहरू आज बजार जाँदा आम्दानी सुकेको र खर्चको पहाड अग्लिएको देखेर छाँगाबाट खसेजस्तै भएका छन् ।’

धान रोपाइँको समय सुरु भइसक्दा पनि किसानले मल नपाएको भन्दै अर्यालले तत्काल मलको व्यवस्था गर्न माग गरिन्। ‘किसानको हातमा बीउ छ, आकाशमा बादल छ, तर खेतमा हाल्ने मल छैन,’ अर्यालले भनिन्, ‘हरेक वर्ष रोपाइँकै बेला मलको हाहाकार हुनु सरकारको योजना विहीनता र लाचारी हो ।’

वार्षिक रूपमा आवश्यक पर्ने मलको तथ्याङ्क थाहा हुँदाहुँदै पनि सरकारले आपूर्ति र वितरण प्रणाली मिलाउन नसकेको उनको आरोप थियो । अर्यालले राति भोकै चुल्हो निभाएर बस्न बाध्य परिवारको आँसु र मल नपाएर छटपटिएका किसानको वेदनालाई सिंहदरबारले महसुस गर्नुपर्ने बताइन्।

युवाहरूको आक्रोशलाई हलुका रूपमा नलिन पनि सरकारलाई अर्यालले चेतावनी दिइन्।

spot_img

ताजा अपडेट

लोकप्रिय