spot_img

पूर्वएमाले नेतालाई धरानको मेयर उठाउने हर्क साम्पाङको घोषणा

spot_img
spot_img

काठमाडौं,१४ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद) हर्क साम्पाङले धरान उपमहानगरपालिकाको आगामी उपनिर्वाचनमा पूर्वएमाले नेतालाई मेयरको उम्मेदवार बनाउने घोषणा गरेका छन्।

निर्वाचन आउन करिब एक वर्ष बाँकी छँदै साम्पाङले आफ्नो पार्टीको तर्फबाट धनबहादुर राईलाई मेयरको उम्मेदवार बनाउने घोषणा गरेका हुन्। मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक ‘लिगेसी’ लाई निरन्तरता दिन सक्ने योग्य पात्र राई नै भएको दाबी गरेका छन्।

उम्मेदवार घोषणा गर्दै साम्पाङले लेखेका छन्: ‘मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन बहादुर राई नै देखेँ ! आजदेखि मेयरको उम्मेदवार विषय टुंगियो।’

मेयरका उम्मेदवार घोषित राई नेकपा (एमाले) परित्याग गरी श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन्। गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिका वडा नम्बर ४ बाट एमालेको तर्फबाट वडाध्यक्ष निर्वाचित भएका राई पछिल्लो समय साम्पाङको श्रमदान अभियानमा सक्रिय रूपमा जोडिएका थिए।

मेयर साम्पाङको अभियानलाई साथ दिएकै कारण नेकपा (एमाले) धरान नगर कमिटीले उनलाई वडाध्यक्ष पदबाट बर्खास्त गर्न समेत सिफारिस गरेको थियो। एमालेसँगको दुरी बढेसँगै उनी साम्पाङको निकट हुँदै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।

पार्टीभित्र मेयर पदका लागि अन्य आकांक्षीहरू पनि रहेका बेला साम्पाङले सम्भावित आन्तरिक विवादलाई बेलैमा व्यवस्थापन गर्ने प्रयास गरेका छन्। मेयर पदका बलिया आकांक्षी मानिएका निना चन्द्रलाई साम्पाङले सम्झौता स्वरूप आगामी प्रदेश सभा निर्वाचनपछि ‘प्रदेशको मन्त्री’ बनाइदिने आश्वासन दिएका छन्।

निर्वाचनभन्दा निकै अगाडि नै उम्मेदवारको टुंगो लगाएर हर्क साम्पाङले धरानमा आफ्नो राजनीतिक पकड मजबुत राख्ने र चुनावी तयारीमा आक्रामक रूपमा लाग्ने रणनीति अपनाएको देखिन्छ। यस घोषणाले धरानको स्थानीय राजनीतिमा अहिलेदेखि नै चुनावी सरगर्मी बढाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय