spot_img

नेपालमा डाक्टर र नर्सको संख्या बढ्दै

spot_img
spot_img

काठमाडौं,१४ जेठ । नेपालमा प्रति हजार जनसंख्यामा डाक्टर र नर्सको संख्या बढ्दै गएको देखिएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार देशभर स्वास्थ्य जनशक्तिको पहुँच विस्तार भइरहेको तथ्यांकले देखाएको छ।

सर्वेक्षणअनुसार हाल प्रति हजार जनसंख्यामा १.८६ डाक्टर र ४.४२ नर्स उपलब्ध छन्। नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलमा २०८२ फागुनसम्म दर्ता भएका तथ्यांकका आधारमा यो विवरण तयार गरिएको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा डाक्टर र नर्स दुवैको संख्या वृद्धि भएको देखिएको छ। यसले स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गएको संकेत गरेको सर्वेक्षणमा उल्लेख छ।

सरकारी स्वास्थ्य संस्थाको संख्या पनि बढ्दै गएको छ। हाल देशभर कुल ८,९७६ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन्। तीमध्ये ४२० अस्पताल, १८१ प्राथमिक स्वास्थ्य केन्द्र, ३,६०३ स्वास्थ्यचौकी, ४२६ आयुर्वेदिक औषधालय, ४,३४६ उपस्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन्।

सरकारी स्वास्थ्य संस्थामा हाल १८,६४० शय्या उपलब्ध छन् भने कुल १,४७,७५६ स्वास्थ्य जनशक्ति कार्यरत रहेको सर्वेक्षणमा उल्लेख छ। यसमध्ये ७,०३० डाक्टर र २८,६५० नर्स तथा अनमी कार्यरत छन्।

त्यसैगरी ६८४ कविराज, ६९३ वैद्य, १६,३१३ स्वास्थ्य सहायक तथा ५१,३८६ महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य सेवामा सक्रिय रहेका छन्। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको छ।

यद्यपि स्वास्थ्य पूर्वाधार र जनशक्ति विस्तार भए पनि विशेषज्ञ चिकित्सकको अभाव, दुर्गम क्षेत्रमा जनशक्ति टिकाइराख्ने चुनौती र उपकरण अभाव जस्ता समस्या अझै कायम रहेको सर्वेक्षणले औंल्याएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय