काठमाडौं,१४ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ।
बिहीबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक बासना थापा ले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेकी हुन्। उनका अनुसार विगतमा भौतिक पूर्वाधारमा बढी केन्द्रित हुने बजेट परम्परालाई बदल्दै यसपटक नागरिकको प्रत्यक्ष सरोकारका क्षेत्र स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता छ।
थापाले सरकारले विगत केही वर्षदेखि बजेट कार्यान्वयन सन्तोषजनक रूपमा गर्न नसकेको आरोप लगाइन्। उनले सरकारसँग झन्डै दुई तिहाइको समर्थन भए पनि त्यसको प्रभावकारी उपयोग नभएको बताउँदै प्रतिपक्षका सुझाव र आवाजलाई बेवास्ता गरिएकोमा आपत्ति जनाइन्।
उनका अनुसार प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नहरूको समेत उचित जवाफ नदिएको गुनासो रहेको छ। उनले यस्तो प्रवृत्तिलाई जनताप्रतिको उत्तरदायित्व कमजोर हुनु र गैरजिम्मेवारीपनको संकेत भएको टिप्पणी गरिन्। संसदीय दलको बैठकमा संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिबारे पनि विस्तृत छलफल भएको जनाइएको छ।



