वीरगन्ज,१४ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र एकसाथ सक्रिय हुँदा देशका अधिकांश क्षेत्रमा वर्षा, चट्याङ्ग र हावाहुरीको सम्भावना बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोसी प्रदेश लगायत हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने मधेस प्रदेश मा आंशिक बदली छ। अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ। कोसी र बागमती प्रदेश का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेश सहित पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था कायम रहने अनुमान छ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्ने चेतावनी दिइएको छ।
मौसमविद्हरूले सम्भावित चट्याङ्ग, हावाहुरी तथा वर्षाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।



