spot_img

४ दिनदेखि विद्युत् अवरुद्ध, स्थानीयलाई सास्ती

spot_img
spot_img

बारा,१४ जेठ । हावाहुरीका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र पर्सागढी नगरपालिकाका विभिन्न क्षेत्रमा चार दिनदेखि विद्युत् अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

जेठ ९ र ११ गते आएको हावाहुरीले जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १, २, ७, ११, १४, १५, २१ र २२, निजगढ नगरपालिकाका वडा नं. १० र १३ तथा पर्सागढी नगरपालिकाका वडा नं. ३ र ४ मा विद्युत् सेवा अवरुद्ध भएको हो ।

विद्युत् अवरुद्ध हुँदा चर्को घाम र अत्यधिक गर्मीमा बस्नै कठिन भएको स्थानीयवासीको गुनासो छ । जीतपुरसिमरा–१५ का स्थानीय शिवचन्द्र थारुले तीन दिनअघि गाउँमा पोल ढलेर विद्युत् अवरुद्ध भए पनि अहिलेसम्म मर्मत नभएको बताए ।

‘लाइन नहुँदा गर्मीले बस्नै सकिएको छैन,’ थारुले भने, ‘मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ । कहिले बनाउने हो, थाहा छैन ।’सोमबारको हावाहुरीले जीतपुरसिमरा–१५ की जितनदेवी राउतको घरमाथि विद्युत् पोल ढालेको थियो । घरमाथि पोल ढलेपछि उनी त्रासमा बस्न बाध्य भएकी छन् ।

‘वडा कार्यालयमा पनि खबर गर्‍यौं । आज भोलि भन्दै टारिरहेका छन्,’ जितनदेवीले भनिन्, ‘लाइन नहुँदा बच्चाहरूले पढ्न पाएका छैनन्, गर्मीले राति सुत्न सकिँदैन । विदेशमा रहेको छोरासँग मोबाइल बन्द भएकाले कुरा गर्न पनि पाएका छैनौं ।’

चर्को घाम र अत्यधिक गर्मीका कारण दिनभर खेतमा काम गर्ने ग्रामीण भेगका किसानहरू रातभर सुत्न नसकेको, बालबालिकाले विद्यालयको गृहकार्य गर्न नपाएको तथा ज्येष्ठ नागरिकलाई थप समस्या भएको स्थानीयको भनाइ छ ।

जीतपुरसिमरा–१३ का स्थानीय तथा डुमरवाना विकास मञ्चका अध्यक्ष गोविन्द चौधरीले पटक–पटक ताकेता गर्दा पनि विद्युत् प्राधिकरणले सुनुवाइ नगरेको आरोप लगाए ।‘बत्ती नहुँदा मोबाइल चार्ज गर्न अर्को गाउँ पुग्नुपरेको छ,’ चौधरीले भने, ‘बच्चाहरूलाई पढ्न र सुत्न गाह्रो भएको छ । शहर बजारमा बिग्रिए तत्काल मर्मत हुन्छ, तर गाउँमा कर्मचारी र हाकिमहरूले वास्ता गर्दैनन् ।’

नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतले हावाहुरीका कारण ११ केभी प्रसारण लाइनका ५० वटा पोल ढलेको र पाँच वटा ट्रान्सफर्मरमा क्षति पुगेको जानकारी दिए ।

‘क्षति भएका स्थानमा निर्माण व्यवसायीका तीन टोली परिचालन गरेर काम गरिरहेका छौं,’ प्रमुख महतले भने, ‘हालसम्म करिब ६० प्रतिशत क्षेत्रमा मर्मत गरी विद्युत् सुचारु गरिएको छ । बाँकी स्थानमा पनि एक–दुई दिनभित्र काम सम्पन्न हुन्छ ।’

प्राधिकरणका अनुसार जेठ ९ र ११ गतेको हावाहुरीबाट करिब ७० लाख रुपैयाँ बराबरको विद्युतीय क्षति भएको छ ।हावाहुरीले अमलेखगञ्ज क्षेत्रमा सबैभन्दा बढी क्षति पुर्‍याएकाले त्यहाँ विद्युत् सेवा पूर्ण रूपमा सुचारु हुन अझ केही दिन लाग्ने जनाइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय