बीरगन्ज,१४ जेठ । बीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा विभिन्न प्रकारका पेट्रोलियम पदार्थको आयात उल्लेखनीय रूपमा बढेको छ।
भन्सार कार्यालयका अनुसार उक्त अवधिमा कुल रू एक खर्ब ८१ अर्ब ७० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रू २५ अर्ब ५३ करोड अर्थात् १६ दशमलव ३५ प्रतिशतले बढी हो। गत आवको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रू एक खर्ब ५६ अर्ब १७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थको आयातबाट मात्रै चालु आवको १० महिनामा रू ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी डिजेल आयात भएको छ। चालु आवको १० महिनामा रू एक खर्ब ५७ करोड मूल्य बराबरको आठ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात गरिएको छ। गत आवको सोही अवधिमा भने रू ७९ अर्ब ५७ करोड मूल्य बराबरको नौ लाख ८५७ किलोलिटर डिजेल भित्रिएको थियो।
त्यसैगरी, रू ३५ अर्ब ७९ करोड मूल्य बराबरको तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ। गत आवको समान अवधिमा रू ३१ अर्ब ७१ करोड मूल्य बराबरको तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात गरिएको थियो।
एलपीजी ग्यासको आयात भने केही घटेको देखिएको छ। चालु आवको १० महिनामा रू २५ अर्ब ५४ करोड मूल्य बराबरको २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपीजी आयात भएको छ। जबकि गत आवको सोही अवधिमा रू ३० अर्ब २८ करोड मूल्य बराबरको २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास भित्रिएको थियो।
भारतसँग जोडिएको प्रमुख व्यापारिक नाका भएकाले वीरगञ्ज भन्सारमार्फत हुने पेट्रोलियम आयातले देशको राजस्व सङ्कलन र आपूर्ति व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।



