काठमाडौं,१५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय मानव अधिकार आयोगद्वारा सार्वजनिक प्रतिवेदनलाई अविलम्ब कार्यान्वयनमा लैजान सरकारसँग जोडदार माग गरेका छन् ।
पार्टी स्थापनाको ३६औँ वर्ष प्रवेशका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रतिवेदनले उजागर गरेका विषयहरू अत्यन्तै गम्भीर भएकाले सरकारले यसमा अग्रसरता देखाउनुपर्ने बताए ।
अध्यक्ष लिङ्देनले प्रतिवेदनमा मानव अधिकार उल्लंघनको दोषी ठहरिएका व्यक्तिहरूले अविलम्ब सफाइको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यो विषय नेपालको सीमाभित्र मात्रै सीमित छैन, यो प्रतिवेदन संयुक्त राष्ट्र संघ र यसका सम्बद्ध अन्तर्राष्ट्रिय निकायहरूमा समेत अभिलेख रहनेछ’।’ विगतमा मानव अधिकार उल्लंघनका घटनामा दोषी ठहरिएका व्यक्तिहरूलाई विदेश भ्रमणमा रोक लगाइएका दृष्टान्त दिँदै उनले दोषी देखिएकाहरूले प्रक्रिया पुर्याएर छिटोभन्दा छिटो सफाइ नलिए यसले भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा जटिलता निम्त्याउन सक्ने चेतावनी दिए ।
सोही अवसरमा अध्यक्ष लिङ्देनले राप्रपा मुलुकको एकमात्र वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै पार्टी पंक्तिलाई निराश नभई मुलुकको हितका लागि सक्रिय रहन आह्वान गरे । उनले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजानु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै यस प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।



