spot_img

कमसल निर्माण र लापरबाही एक महिला मजदुरको मृत्यु : महानगरको अनुगमन फितलो

spot_img
spot_img

वीवीरगंज, १५ जेठ – घर निर्माणको क्रममा वीरगंजमा एक महिला मजदुरको मृत्यु भएपछि मजदुर सुरक्षा, निर्माण मापदण्ड र महानगरको अनुगमनमाथि गम्भीर प्रश्न उठेको छ। पछिल्लो समय वीरगंजका भित्री सडक तथा भीडभाड हुने क्षेत्रमा भाडा उठाउने उद्देश्यले धमाधम घर, टहरा तथा सटर निर्माण भइरहेका छन्। तर यस्ता अधिकांश संरचनामा सरकारी मापदण्ड, गुणस्तर र सुरक्षाको बेवास्ता भइरहेको स्थानीयवासीको गुनासो छ।

मुख्य सडक क्षेत्र टुटफुट भएपछि अहिले भित्री सडक खण्ड तथा खाली जग्गाहरूमा समेत कमसल सामग्री प्रयोग गरी संरचना निर्माण गर्ने क्रम बढेको बताइन्छ। निर्माण कार्यका क्रममा आवश्यक सुरक्षा सतर्कता अपनाइएको नदेखिएको तथा मजदुरको सुरक्षालाई समेत बेवास्ता गरिएको आरोप छ।

महानगरभित्र निर्माण हुने संरचनाको नियामक निकाय वीरगंज महानगरपालिका भए पनि प्रभावकारी अनुगमन नहुँदा यस्ता दुर्घटना बढ्ने जोखिम देखिएको छ। फितलो अनुगमनकै कारण एक महिलाले अकालमै ज्यान गुमाउनुपरेको स्थानीयको भनाइ छ।

बिहीबार वीरगंज महानगरपालिका–६ मा निर्माणाधीन घरको पर्खाल भत्किँदा च्यापिएर एक महिला मजदुरको मृत्यु भएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–४ निवासी ३२ वर्षीया सीतादेवी मुसहर रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार दिउँसो ओम अग्रवालको घर निर्माणका क्रममा इँटाको पर्खाल टपसहित अचानक भत्किँदा काम गरिरहेकी मुसहर गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

स्थानीयवासीका अनुसार उक्त घर भाडामा लगाउने उद्देश्यले कमसल सामग्री प्रयोग गरी निर्माण भइरहेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले घटनाको प्रारम्भिक अनुसन्धानमा निर्माण कार्यमा लापरबाही भएको आशंका गरिएको जानकारी दिए।

प्रारम्भिक अनुसन्धानमा घर निर्माण मापदण्डअनुसार नभएको, नक्सा पास नगरी निर्माण गरिएको तथा प्रयोग गरिएको सामग्रीसमेत गुणस्तरहीन रहेको देखिएको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि प्रहरीले घरधनीका छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय