काठमाडौँ,१५ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ समानान्तर ट्याक्सी वे (रन वे, एप्रोन, ह्याङ्गर र टर्मिनल भवन जोड्ने पहुँच मार्ग) सञ्चालनमा आएको छ । पश्चिमतर्फ (पशुपति क्षेत्रतर्फ) को ट्याक्सी वे धावनमार्गमा जोडिएसँगै यसले जहाजको आवतजावतलाई सहज बनाउनुका साथै धावनमार्गको प्रयोग समय घटाउने छ ।
प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत यो ट्याक्सी वे निर्माण गरिएको हो । समानान्तर ट्याक्सी वे सञ्चालनमा आएसँगै अब जहाज अवतरण गर्नासाथ धावनमार्गबाट बाहिरिएर ट्याक्सी वे हुँदै एप्रोनतर्फ लाग्ने छन् भने उडानका लागि समेत जहाज ट्याक्सी वे हुँदै धावनमार्गको प्रथम विन्दुमा प्रवेश गर्ने छन् ।
त्यस्तै जहाजले उडान र अवतरण गरेलगत्तै धावनमार्ग खाली हुने भएकाले अर्काे जहाजले उडान अवतरणका लागि लामो समय पालो कुर्नु नपर्ने हुँदा यात्रुको समय बचत हुनुका साथै धावनमार्ग व्यस्त हुँदा जहाज आकाशमै होल्ड बस्नु नपर्दा एयरलाइन्स कम्पनीको इन्धन बचत हुने छ ।
विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार यो उपलब्धिले हवाई सुरक्षामा सुधार ल्याउने तथा बढ्दो हवाई चाप व्यवस्थापनमा सहयोग पुग्ने भएको छ । “विमानस्थलको सेवा क्षमता वृद्धि हुनुका साथै हवाईक्षेत्रलाई थप सुरक्षित र प्रभावकारी बनाउन सहज हुने छ,” उहाँले भन्नुभयो, “धावनमार्गलाई नै ट्याक्सी वेका रूपमा प्रयोग गर्नुपर्ने र धावनमार्गमा जहाज लाइनमा बस्नुपर्ने बाध्यता अब हटेको छ ।” ट्याक्सी वे सञ्चालनमा आएसँगै विमानस्थलको धावनमार्गको क्षमतामा १५ देखि २० प्रतिशतसम्म वृद्धि हुन सक्ने उहाँको आकलन छ ।



