काठमाडौं,१५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणबाट मात्रै समुन्नत र समृद्ध नेपाल निर्माण सम्भव हुने बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान र गणतन्त्रको रक्षा गर्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
थापाले नेपाली जनताको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई जोगाउँदै संस्थागत रूपमा बलियो बनाउन आवश्यक रहेको उल्लेख गरे। “संविधान र गणतन्त्रको सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रमा रूपान्तरण गर्न सकिन्छ,” उनले भने।
उनले २०६२/६३ को जनआन्दोलन सफल भई त्यसपछिको राजनीतिक प्रक्रियाले मुलुकलाई गणतन्त्रमा प्रवेश गराएको स्मरण गरे। साथै तत्कालीन नेतृत्वमा संविधानसभा निर्वाचन सम्पन्न भई २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको ऐतिहासिक उपलब्धि भएको बताए।
थापाले अब मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, एकता र प्रेरणा जगाउने विश्वास व्यक्त गरेका छन्।



