spot_img

नेपाल पत्रकार महासंघ मधेश प्रदेशको आफ्नै भवन निर्माण सुरु

spot_img
spot_img

बीरगन्ज,१५ जेठ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै प्रादेशिक भवन निर्माण कार्य सुरु भएको छ। गणतन्त्र दिवसको अवसर पारेर शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–४ मा भवनको शिलान्यास गरिएको हो।

मधेश प्रदेश सरकारका मन्त्री फकिरा महतोले भवनको शिलान्यास गर्दै पत्रकार महासंघको प्रादेशिक कार्यालयलाई आधुनिक तथा सुविधा सम्पन्न संरचनाको रूपमा विकास गरिने बताए। उनले महासंघ, अर्थ मन्त्रालय तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयबीच समन्वय गरी आगामी बजेटमार्फत आवश्यक रकम व्यवस्थापन गरिने जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले अग्रज पत्रकारहरूले देखेको सपना अब साकार हुने चरणमा पुगेको बताए। उनले नेपालमै पहिलोपटक मधेश प्रदेश समितिको आफ्नै भवन निर्माण हुन लागेको उल्लेख गर्दै यसलाई ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरे।

अध्यक्ष बन्जाराले महासंघको निर्वाचनका क्रममा गरिएको प्रतिबद्धताअनुसार भवन निर्माणको काम अघि बढाइएको बताए। उनले पर्सामा महासंघको दुईतले भवन निर्माण गरेजस्तै मधेश प्रदेशको पनि आफ्नै भवन बनाउने लक्ष्य पूरा हुन लागेको उल्लेख गरे।

उनले भने, “अग्रज पत्रकारहरूले देखेको सपना आज साकार हुने दिशामा अघि बढेको छ। निर्वाचनताका गरिएको प्रतिबद्धता अनुसार भवन निर्माण कार्य सुरु गरिएको हो। अब चाँडै आधुनिक र सुविधासम्पन्न भवन तयार हुनेछ।”

कार्यक्रममा केसी लामिछाने, राम भरत, राजेश कर्ण, जितेन्द्र सिंह खड्का, बन्दना झा तथा अजय साह लगायत महासंघका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

महासंघका अनुसार प्रारम्भिक चरणमा दुई कोठे भवन निर्माण कार्य सुरु गरिएको छ। कार्यक्रमको सहजीकरण महासचिव शैलेन्द्र महतोले गरेका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय