काठमाडौं,१५ जेठ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमवासी बस्ती हटाउने क्रममा राज्यले अपनाएको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै त्यसलाई क्रूर र अमानवीय भएको टिप्पणी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विस्थापनको व्याकुलताः शहरी सुकुमवासीको स्वास्थ्य र मनोसामाजिक संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले बस्ती खाली गराउनुअघि पर्याप्त समय, विकल्प र मानवीय व्यवहार अपनाउनुपर्नेमा राज्य चुकेको बताए।
उनका अनुसार बस्तीमा बसोबास गर्ने सबै व्यक्तिहरू एउटै प्रकृतिका नभई वास्तविक सुकुमवासीहरू पनि रहेका थिए। यस्तो अवस्थामा उचित वर्गीकरण र व्यवस्थापनबिना बल प्रयोग गर्नु गलत भएको उनले उल्लेख गरे।
पौडेलले बस्ती हटाउने क्रममा बालबालिका, सुत्केरी महिला तथा वृद्धवृद्धाको अवस्थालाई बेवास्ता गरिएको भन्दै मानवीय संवेदनशीलताको कमी देखिएको आरोप लगाए। “घरका अभिभावकको गल्ती भए पनि बालबालिका र असहाय व्यक्तिहरूलाई पीडा दिनु उचित होइन,” उनले भने।
उनले वैकल्पिक आवासको व्यवस्था र मनोसामाजिक सहयोगबिना गरिएको विस्थापनले प्रभावित परिवारहरूमा गम्भीर मानसिक असर पारेको बताए।
राज्यले समस्या समाधानमा जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा हेलचेक्र्याइँ देखाएको भन्दै उनले यस्ता विषयमा सरकारलाई संवेदनशील बन्न आग्रह गरे।



