spot_img

लगानी आकर्षित गर्न तीन महिनाभित्र स्वचालित प्रणाली लागू गरिने

spot_img
spot_img

काठमाडौं,१५ जेठ । सरकारले विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्न आगामी तीन महिनाभित्र स्वचालित लगानी प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानी प्रक्रिया सरल, छिटो र पारदर्शी बनाउन डिजिटल तथा स्वचालित प्रणाली लागू गरिने बताएका हुन्।

उनका अनुसार लगानीसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि विशेष ‘लगानी भिसा’ व्यवस्था गरिनेछ। यसले विदेशी लगानीकर्ता तथा अनुसन्धानकर्तालाई नेपालमा लगानी सम्भावनाको अध्ययन गर्न सहज हुने सरकारको विश्वास छ।

सरकारले सम्पत्ति मूल्यांकन, ऋण भुक्तानी, लाभांश वितरण तथा लगानी फिर्ताजस्ता प्रक्रियालाई थप सरलीकरण गर्ने नीति पनि लिएको छ। यसबाट लगानीकर्तालाई प्रशासनिक झन्झट कम हुनुका साथै लगानी र मुनाफा फिर्ता प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

अर्थमन्त्री वाग्लेले उद्योग तथा औद्योगिक नवप्रवर्तनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारलाई निरन्तरता दिइने बताए।

सरकारले आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा उत्पादन वृद्धि गर्न निजी क्षेत्र र विदेशी लगानीलाई मुख्य आधारका रूपमा अघि बढाउने नीति लिएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय