काठमाडौं,१५ जेठ । सरकारले निःशुल्क वितरण गरिँदै आएका २५ प्रकारका औषधि अब स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई सुदृढ बनाउँदै आवश्यक औषधि देशमै उत्पादन गर्ने क्षमता विकास गरिने बताएका छन्।
सरकारका अनुसार निःशुल्क वितरण हुने औषधिहरूमध्ये २५ प्रकारका औषधि नेपालमै उत्पादन गर्ने लक्ष्य राखिएको छ। यसबाट औषधि आयातमा निर्भरता घट्ने, लागत कम हुने तथा स्वास्थ्य आपूर्ति प्रणाली मजबुत हुने अपेक्षा गरिएको छ।
सरकारले स्वास्थ्य क्षेत्रलाई आत्मनिर्भर बनाउँदै नागरिकलाई गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले औषधि उत्पादन तथा आपूर्ति प्रणाली सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ।



