काठमाडौं,१५ जेठ । सरकारले आगामी पाँच वर्षभित्र देशभरका शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खानेपानी सेवाको पहुँच विस्तारलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन्।
सरकारका अनुसार सुरक्षित खानेपानी सेवालाई राष्ट्रिय स्तरमा विस्तार गर्दै सबै नागरिकसम्म पहुँच पुर्याउने लक्ष्यसहित दीर्घकालीन योजना अघि सारिएको हो।
त्यसैगरी काठमाडौं उपत्यकाभित्र खानेपानी महसुल पुनरावलोकन गरिने पनि बजेटमार्फत घोषणा गरिएको छ। उपभोक्ता सेवा र लागत संरचनालाई ध्यानमा राख्दै शुल्क प्रणालीलाई परिमार्जन गर्ने तयारी गरिएको सरकारको भनाइ छ।
सरकारले खानेपानीसँग सम्बन्धित विभिन्न निकायहरूलाई एकीकृत गरी एउटै संरचना बनाउने निर्णयसमेत गरेको छ। यसबाट सेवा प्रवाहलाई प्रभावकारी, समन्वित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेले खानेपानीलाई आधारभूत सेवाको रूपमा सुदृढ गर्दै नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको लक्ष्य रहेको बताए।



