काठमाडौं,१५ जेठ । सरकारले जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन वीर अस्पताल र कीर्तिपुर अस्पताललाई स्तरोन्नति गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जलन उपचार सेवा विस्तार तथा आधुनिक स्वास्थ्य सुविधा विकासलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
सरकारले जलन उपचारका लागि आवश्यक पूर्वाधार, उपकरण तथा विशेषज्ञ सेवा विस्तार गर्दै बिरामीलाई गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।
त्यसैगरी सरकारले नर्सिङ कर्मचारीको रात्रिभत्ता दोब्बर बनाउने घोषणा पनि गरेको छ। स्वास्थ्य क्षेत्रमा कार्यरत नर्सहरूको योगदानलाई सम्मान गर्दै सेवा–सुविधा सुधार गर्ने उद्देश्यले रात्रिभत्ता वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले बताए।
सरकारले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी र सेवामुखी बनाउने नीति लिएको जनाएको छ।



