spot_img

बीरगन्जका सामुदायिक विद्यालयका २१ उत्कृष्ट विद्यार्थी सम्मानित

spot_img
spot_img

बीरगन्ज,२३ जेठ । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘सम्मान कार्यक्रम–२०८३’ शनिबार बीरगन्जमा भव्य रूपमा सम्पन्न भएको छ। एसईई २०८२ को नियमित परीक्षामा बीरगन्ज महानगरपालिकाअन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये प्रत्येक विद्यालयबाट सर्वोत्कृष्ट जीपीए हासिल गर्ने २१ जना छात्र–छात्रालाई सम्मान गरिएको हो।

बीरगन्ज पब्लिक कलेजको नवनिर्मित भवनस्थित सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष मुना खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने बीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले सामुदायिक विद्यालयका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजाले शिक्षा क्षेत्रमा नयाँ आशा र सम्भावना जगाएको बताए। उनले सम्मानित विद्यार्थीहरूलाई प्राप्त उपलब्धिलाई थप प्रेरणाको स्रोतका रूपमा ग्रहण गर्दै आगामी अध्ययनमा अझ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे।

शिक्षा समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै उनले मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढेमा विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत उल्लेखनीय सफलता हासिल गर्न सक्ने विश्वास व्यक्त गरे। साथै, यस्ता सम्मान कार्यक्रमहरूले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वास र आकर्षणसमेत बढाउने उनको भनाइ थियो।

लामिछानेले बीरगन्ज महानगरपालिकाले गुणस्तरीय शिक्षाको विकास तथा विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा प्रेरणादायी गतिविधिमा सहकार्य गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार एवं समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय, अभिलाष गुप्ता, लालबाबु सिंहलगायत प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। त्यसैगरी श्रीमती इन्दिरा देवी खनाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, अजित भुजेल, प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, वरिष्ठ उपाध्यक्ष सुशिला साह, सचिव अशोक सङ्गौला, लायन्स क्लबका रामबिहारी पाण्डे, मानवसेवा आश्रमका देवेश गुप्ता, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, रितेश गुप्ता, राजेन्द्र कोइरालालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रतिष्ठानले सम्मानित विद्यार्थीहरूलाई जनही नगद रु. १ हजार ५ सय, सम्मानपत्र, खादा तथा टीका प्रदान गरी सम्मान गरेको थियो। सम्मानित हुने विद्यार्थीहरूमा किरण कुमारी साह, रोशनी कुमारी डोमिन, रागनी कुमारी कानु, साहिल मियाँ, समिरकुमार कर्ण, अनुज्ञा श्रीवास्तव, सपना सोनार, निशा पटेल, अनिसा पण्डित, सुजाता कुशवाहा, अब्दुल अजिज, किरण कुमारी पटेल, सुरज कुमार, अंकिता कुमारी, कुमकुम कुमारी कुशवाहा, विध्या कुमारी, पूजा कुमारी पटेल, राजकरण ठाकुर लोहार, अञ्जली कुमारी, सादिया खातुन, महम्मद उमर फारूक तथा सन्दर्भ माली रहेका छन्।

कार्यक्रमका संयोजक प्रभु रौनियारले विद्यार्थीहरूको मनोबल उच्च राख्न तथा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्न प्रतिष्ठानले हरेक वर्ष यस्ता सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले कार्यक्रमको सफलताका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि शैक्षिक विकासका लागि यस्ता अभियानलाई निरन्तरता दिइने जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय