काठमाडौं,०७ असार । उपेन्द्र यादव ले मुलुकले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायको माग गरिरहेको बताएका छन्।
पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशलाई विगतका विकृति–विसंगतिबाट अघि बढाउने अवसर अहिले प्राप्त भएको उल्लेख गरे। उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिले नयाँ युगको सुरुवात गर्ने आधार तयार गरेको छ।
यादवले नेपालको संविधानलाई अपूर्ण र त्रुटीपूर्ण रहेको टिप्पणी गर्दै यसको संशोधन र परिमार्जन आवश्यक रहेको बताए। संघीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिहरू महत्वपूर्ण भए पनि अझै धेरै प्रावधानहरू स्पष्ट र पूर्ण नभएको उनको भनाइ थियो।
उनले संविधानभित्र रहेका कमजोरी र असंगतिहरू सच्याउँदै यसलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए। साथै, मुलुकलाई स्थायित्व र विकासतर्फ लैजान सुशासन र नीतिगत सुधार अपरिहार्य रहेको उनले बताए।




