spot_img

कुटपिट तथा अंगभंग मुद्दाका आरोपित वडाध्यक्ष एक महिनादेखि फरार

spot_img
spot_img

राजविराज,०७ असार । कुटपिट तथा अंगभंग मुद्दामा पक्राउ पुर्जी जारी भएका सप्तरीको राजगढ गाउँपालिका–२ का वडाध्यक्ष जितेन्द्रकुमार यादव अझै प्रहरीको पहुँचबाहिर रहेका छन्।

जिल्ला प्रहरीका अनुसार गत जेठ १ गते यादवसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। पक्राउ पुर्जीबारे जानकारी पाएपछि यादवले जेठ ५ गते वडासदस्यलाई कार्यवाहक जिम्मेवारी सुम्पेर सम्पर्कविहीन बनेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरी का प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरे का अनुसार फरार रहेका आरोपितहरूको खोजी कार्य जारी छ। हालसम्म यस प्रकरणमा दुई जना आरोपित पक्राउ परिसकेका छन्।

प्रहरीले स्थानीय ५० वर्षीय टुनु खंगलाई राजविराजबाट पक्राउ गरेको छ भने अर्का आरोपित शिवन खंग यसअघि नै नियन्त्रणमा परेका थिए। स्वास्थ्य अवस्थाका कारण आवश्यक कानुनी प्रक्रिया पूरा गरी शिवन खंगलाई जिम्मा जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

यो घटना २०८१ कात्तिक २१ गते भएको बताइएको छ। सार्वजनिक जग्गामा घर निर्माणको विषयलाई लिएर भएको विवादपछि वडाध्यक्ष यादवसहित केही व्यक्तिले स्थानीय ललनकुमार सिंह माथि कुटपिट गरेको आरोप छ। घटनाका क्रममा रड प्रहारबाट सिंहको हात भाँचिएको थियो।

पीडितले घटनापछि प्रहरीमा जाहेरी दिन खोजे पनि दर्ता नभएको दाबी गर्दै अदालतको ढोका ढकढकाएका थिए। त्यसपछि उच्च अदालत जनकपुर, राजविराज इजलास ले प्रहरीलाई कानुनी प्रक्रिया अघि बढाउन परमादेश जारी गरेपछि मुद्दाको अनुसन्धान अगाडि बढेको हो।

प्रहरीले फरार वडाध्यक्षसहित बाँकी आरोपितहरूको खोजी तथा पक्राउ अभियान जारी रहेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय