काठमाडौं,०७ असार । राजेन्द्र लिङ्देन ले राजनीतिक दलहरूले आफ्नो संगठनात्मक अवस्था मात्र होइन, जनताको मनोभावनालाई पनि गम्भीर रूपमा बुझ्नुपर्ने बताएका छन्।
एक कार्यक्रममा बोल्दै उनले कुनै दलको संगठन कमजोर भए पनि जनताले आवश्यक ठानेमा ठूलो जनमत दिन सक्ने उदाहरणहरू देखिएको उल्लेख गरे। उनका अनुसार जनताले राजनीतिक दलभन्दा अघि बढेर आफ्ना निर्णय गर्ने क्षमता राख्छन्।
लिङ्देनले काठमाडौं महानगर प्रमुख बालेन शाह को उदाहरण दिँदै जनताले विभिन्न राजनीतिक अपेक्षा र परिवर्तनको चाहनासहित मतदान गर्ने गरेको टिप्पणी गरे।
उनले अहिले प्राप्त अवसरलाई सही रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै निषेध र प्रतिशोधको राजनीतिबाट टाढा रहन राजनीतिक दलहरूलाई आग्रह गरे। “अघिल्लाले गलत गरे भनेर हामीले पनि त्यही दोहोर्याउनु हुँदैन,” भन्ने उनको भनाइ थियो।
उनका अनुसार देशलाई अघि बढाउन प्रतिस्पर्धाभन्दा सहकार्य र सकारात्मक राजनीतिक संस्कार आवश्यक छ।




