spot_img

इनारमा निसास्सिएर युवकको मृत्यु, वडा अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानको जाहेरी

spot_img
spot_img

जनकपुर,२४ जेठ । महोत्तरीको गौशाला नगरपालिका–१२ पररियामा निर्माणाधीन इनारभित्र काम गर्ने क्रममा एक युवकको मृत्यु भएपछि वडा अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ निवासी चन्द्रप्रकाश महतोले आफ्ना २१ वर्षीय छोरा बसन्त कुमार कुशवाहाको मृत्यु लापरवाहीका कारण भएको दाबी गर्दै इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दर्ता गराएका हुन्।

प्रहरीमा दर्ता गरिएको जाहेरीअनुसार निर्माणाधीन इनारभित्र रुखको जरा काट्ने क्रममा प्रयोग गरिएको मेसिनबाट निस्किएको धुवाँका कारण बसन्त निसास्सिएर बेहोस भएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकका परिवारले गौशाला नगरपालिका–१२ का वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासहित पाँच जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएका छन्। परिवारले इनारभित्रको जोखिमबारे जानकारी हुँदाहुँदै आवश्यक सुरक्षा उपाय अवलम्बन नगरी काममा लगाइएको र त्यसकै परिणामस्वरूप युवकको ज्यान गएको आरोप लगाएको छ।

इलाका प्रहरी कार्यालय गौशालाले जाहेरी दर्ता गरी घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदन, घटनास्थलको मुचुल्का, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

घटनाका मुख्य आरोपितमध्ये रहेका वडा अध्यक्ष कुशेश्वर सिंह कुशवाहासँग प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेको छैन। यस कारण उहाँको आधिकारिक धारणा प्राप्त हुन सकेको छैन।

यस घटनाले स्थानीय तहअन्तर्गत सञ्चालन हुने निर्माण तथा पूर्वाधार आयोजनाहरूमा श्रमिक सुरक्षाको अवस्था र कार्यस्थलमा अपनाइने सुरक्षा मापदण्डबारे पुनः गम्भीर प्रश्न उठाएको छ।

पीडित परिवारले घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय