spot_img

पर्सा र बारामा खाद्य स्वच्छता अनुगमन तीव्र, अधिकांश होटल–मिठाई पसलमा मापदण्ड उल्लंघन

spot_img
spot_img

बीरगन्ज,२४ जेठ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको पहलपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पर्सा र बारामा खाद्य स्वच्छता अनुगमन तीव्र पारेको छ। “मोबाइल फुड ल्याब भ्यान” परिचालन गरी गरिएको अनुगमनमा अधिकांश होटल, रेस्टुरेन्ट र मिठाई पसलहरूले न्यूनतम खाद्य स्वच्छता मापदण्डसमेत पालना नगरेको पाइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका प्रमुख सुरेश सिंहको नेतृत्वमा वीरगञ्ज, अमलेखगञ्ज, निजगढ र कलैयामा गरिएको अनुगमनमा किचेन सरसफाइ, खाद्य सामग्री भण्डारण, प्रयोग गरिएको तेलको गुणस्तर, कामदारको व्यक्तिगत सरसफाइ, डस्टबिन व्यवस्थापन तथा खाद्य सुरक्षा अवस्थाको जाँच गरिएको थियो।

वीरगञ्जका अनमोल स्विट्स, होटल मकालु प्रालि, होटल पुजन प्रालि र मेजवानी स्विट्समा सरसफाइ कमजोर, खुला डस्टबिन प्रयोग, असुरक्षित भण्डारण तथा बारम्बार तताइएको तेल प्रयोग भएको भेटिएको विभागले जनाएको छ। अनुगमनका क्रममा मापदण्डविपरीत प्रयोग गरिएको तेल नष्ट गरिएको तथा सम्बन्धित व्यवसायलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेलले गत वर्ष गरिएको स्तरियकरण प्रयासपछि पनि अपेक्षित सुधार नदेखिएको टिप्पणी गर्नुभयो। त्यस्तै उपभोक्ता अधिकारकर्मी प्रकाश शाहले बारम्बार चेतावनी दिँदा पनि व्यवसायीले अटेर गरिरहेको भन्दै कडा कानुनी कारबाही आवश्यक रहेको बताउनुभयो।

यसअघि अमलेखगञ्ज, निजगढ र बाराका विभिन्न होटल तथा रेस्टुरेन्टमा गरिएको अनुगमनमा पनि सरसफाइ कमजोर, खुला डस्टबिन प्रयोग तथा पुनःप्रयोग गरिएको तेलको समस्या देखिएको थियो।

शनिबार कलैयाका विभिन्न मिठाई पसलमा गरिएको अनुगमनमा कामदारले हेडनेट प्रयोग नगरेको, तेल धेरै पटक तताइएको तथा खाद्य सामग्री असुरक्षित रूपमा राखिएको पाइएको बारा उपभोक्ता अधिकारकर्मी अरुण खनालले जानकारी दिनुभयो।

अनुगमन टोलीमा विभागका केमिस्ट, खाद्य निरीक्षक तथा उपभोक्ता अधिकारकर्मी र पत्रकारहरूको सहभागिता रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय