काठमाडौं,२५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशमा दशकौँदेखि थाँती रहेका संरचनागत समस्या एकै बजेटले समाधान हुन्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै उनले बजेटलाई सबै समस्याको एकमात्र समाधानका रूपमा बुझ्नु गलत हुने धारणा राखे।
उनका अनुसार बजेट निर्माणमा स्रोत, समय र अपेक्षाबीच सन्तुलन गर्नुपर्ने भएकाले करिब ७० प्रतिशत संरचना पहिल्यै तय भइसकेको हुन्छ।
“दशकौँदेखि थाँती रहेका समस्या एकै बजेटले समाधान गर्छ भन्ने अपेक्षा अलिकति अव्यवहारिक हो,” उनले भने, “बजेटले सबै समस्या समाधान गर्छ भन्ने सोच गलत हो।”
अर्थमन्त्री वाग्लेले विगत तीन दशकयता एकैपटक ठूलो मात्रामा कर संरचना परिवर्तन नगरेको अवस्थामा यस वर्ष केही सुधार प्रयास गरिएको बताए। समयको सीमाका कारण अझ परिपक्व ढंगले काम गर्न नसकिएको पनि उनले स्वीकार गरे।
उनले सरकारको लक्ष्य समग्र कर बोझ घटाउने रहेको उल्लेख गर्दै निर्वाचनअघि गरिएको प्रतिबद्धता पूरा गर्ने प्रयासस्वरूप कर सुधार गरिएको बताए।
वाग्लेले बजेटले मात्रै अर्थतन्त्रको सम्पूर्ण समस्या समाधान गर्न नसक्ने भन्दै यसको कार्यान्वयनपछि निजी क्षेत्रले लगानी र उत्पादन विस्तारमार्फत आर्थिक वृद्धि अघि बढाउने बताए।




