बीरगन्ज,१३ असार । बाराको कलैया उपमहानगरपालिका–२६ मा जीविकोपार्जन सुधार तथा व्यावसायिक पशुपालन प्रवर्द्धन गर्ने उद्देश्यले १४० जना किसानलाई भैंसी वितरण गरिएको छ।
राष्ट्रिय योजना आयोगको आर्थिक सहयोग तथा कलैया उपमहानगरपालिकाको आयोजनामा सञ्चालित ‘जीविकोपार्जन सुधारका लागि व्यावसायिक पशुपालन तथा खोर सुधार कार्यक्रम’ अन्तर्गत शुक्रबार लाभग्राही किसानलाई भैंसी हस्तान्तरण गरिएको हो।
कार्यक्रमअन्तर्गत नगर प्रमुख विनोद साहले छनोट भएका किसानलाई भैंसी हस्तान्तरण गरेका थिए। वडा अध्यक्ष धर्मेन्द्र प्रसाद यादवका अनुसार कुल १९५ जनाले आवेदन दिएका मध्ये आवश्यक मापदण्ड पूरा गरेका १४० किसानलाई छनोट गरी भैंसी वितरण गरिएको हो।
पशुपालन क्षमता, व्यवस्थित खोर, पराल भण्डारणको व्यवस्था र घरमा आवश्यक श्रमशक्ति भएका किसानलाई प्राथमिकताका आधारमा छनोट गरिएको वडा कार्यालयले जनाएको छ।
यस चरणमा १२५ वटा भैंसी वितरण गरिएको छ भने बाँकी १५ वटा भैंसी आगामी दुई दिनभित्र हस्तान्तरण गरिनेछ। प्रत्येक भैंसी करिब रु १ लाख १८ हजार लागतमा खरिद गरिएको बताइएको छ।
सबै भैंसीको बीमा गरिएको छ भने लाभग्राही किसानले तीन वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र भैंसी बिक्री गरेमा कानुनअनुसार असुलउपर गरिने वडा अध्यक्ष यादवले जानकारी दिए।
भैंसी हस्तान्तरण कार्यक्रममा उपप्रमुख रौशन परविन, विभिन्न वडाका अध्यक्षहरू, शाखा प्रमुखहरू, जनप्रतिनिधि तथा किसानहरूको उपस्थिति रहेको थियो।




