बीरगन्ज,१३ असार । बीरगन्ज–पथलैया सडकखण्ड पछिल्लो समय मधेश प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने सडकमध्ये एकका रूपमा चिनिन थालेको छ।
औद्योगिक करिडोरका रूपमा परिचित यस सडकमा दैनिक हजारौँ साना–ठूला सवारीसाधन सञ्चालन हुने भएकाले दुर्घटनाको जोखिम पनि उत्तिकै उच्च रहेको देखिन्छ। तीव्र गति, जथाभावी ओभरटेक, ट्राफिक नियमको बेवास्ता, भारी सवारीसाधनको अत्यधिक चाप तथा सडक व्यवस्थापनका कमजोरीका कारण यस सडकखण्डमा दुर्घटनाहरू दोहोरिइरहेका छन्।
पछिल्लो एक वर्षमा यस सडकखण्डमा भएका विभिन्न सवारी दुर्घटनामा कैयौँले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन्। हालै जितपुरसिमरा–१० को नितनपुर चोकमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका थिए भने त्यसअघि भएको अर्को दुर्घटनामा तीन जनाको ज्यान गएको थियो।
लगातार भइरहेका यस्ता घटनाले बीरगञ्ज–पथलैया सडकमा सुरक्षित सवारी सञ्चालन सुनिश्चित गर्न ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, सवारी चालकमा सचेतना अभिवृद्धि तथा सडक पूर्वाधारमा सुधार गर्नुपर्ने आवश्यकता अझ टड्कारो बनाएको छ।




