spot_img

लागुऔषधले परिवार र समाजको भविष्य अन्धकारमा : पद्मा अर्याल

spot_img
spot_img

काठमाडौँ,२८ जेठ । नेकपा (एमाले)की सांसद पद्मा अर्यालले मुलुकमा तीव्र रूपमा फैलिँदै गएको लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि केवल कानुनी कारबाही पर्याप्त नहुने बताएकी छन्।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा बोल्दै उनले लागुऔषध नियन्त्रणका लागि बहुआयामिक रणनीति आवश्यक रहेकोमा जोड दिइन्। उनका अनुसार, पक्राउ र अनुसन्धानमा मात्र केन्द्रित परम्परागत दृष्टिकोणले समस्या समाधान गर्न नसक्ने स्पष्ट भएको छ।

सांसद अर्यालले लागुऔषध दुर्व्यसनले व्यक्तिको मात्र नभई परिवार र समग्र समाजको भविष्यमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै यसले युवा पुस्तालाई गम्भीर रूपमा असर गरिरहेको बताइन्। “युवा नै राष्ट्रको मेरुदण्ड हुन्, तर उनीहरू दुर्व्यसनको दलदलमा फस्नु राष्ट्रिय चिन्ताको विषय हो,” उनले भनिन्।

उनले विभिन्न अध्ययनहरूले सीमा नाका, विद्यालय तथा सहरी क्षेत्रमा लागुऔषधको प्रभाव बढ्दो रहेको देखाएको उल्लेख गर्दै ती क्षेत्रहरूमा कडाइका साथ नियमित अनुगमन गर्न आवश्यक रहेको औंल्याइन्।

अर्यालले समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम, मनोसामाजिक परामर्श सेवा तथा प्रभावकारी पुनर्स्थापना केन्द्रहरूको विस्तार अपरिहार्य रहेको बताइन्। पुनर्स्थापनापछि नागरिकलाई समाजमा सहज रूपमा पुनःस्थापित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

यस्ता सुधारात्मक कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र सम्बन्धित निकायलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ। साथै, लामो समयदेखि यस क्षेत्रमा कार्यरत गैरसरकारी तथा सामाजिक संस्थाहरूसँग सहकार्य गरी उनीहरूको अनुभव र सुझावलाई नीतिनिर्माणमा समेट्नुपर्ने आवश्यकता उनले औंल्याइन्।

उनले राज्य व्यवस्था तथा सुशासन समितिको भूमिकालाई अझ सशक्त बनाउँदै सरकारलाई आवश्यक नीतिगत निर्देशन दिनुपर्नेमा समेत ध्यानाकर्षण गराइन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय