spot_img

मधेश प्रदेशमा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

spot_img
spot_img

जनकपुर,१४ असार । खडेरीको प्रभावका बाबजुद मधेश प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा कुल खेतीयोग्य क्षेत्रमध्ये अधिकांश भागमा रोपाइँ सम्पन्न भइसकेको छ। निर्देशनालयका निर्देशक जितेन्द्र यादवले सबैभन्दा बढी बारामा ९५ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत धान रोपाइँ भएको जानकारी दिएका छन्।

मधेश प्रदेशमा करिब ५ लाख ४२ हजार ५ सय ८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा धान खेती हुने अनुमान गरिएको छ। हालसम्म २ लाख ८५ हजार ३ सय ३५ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ।

वर्षा पर्याप्त नहुँदा पनि बोरिङ र विभिन्न नहर प्रणालीमार्फत सिँचाइ उपलब्ध भएकाले रोपाइँ विस्तार सम्भव भएको निर्देशनालयले जनाएको छ। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमती सिँचाइ प्रणालीले किसानलाई सहयोग पुर्‍याएको छ। तर धनुषामा कमला नदी सुक्दा रोपाइँमा समस्या देखिएको छ।

यस वर्ष मधेशमा अधिकतम ८० प्रतिशतसम्म रोपाइँ पुग्ने अनुमान गरिएको छ भने ढिलो रोपाइँका कारण धान उत्पादन करिब २७ प्रतिशतसम्म घट्न सक्ने आकलन गरिएको छ।

प्रदेश सरकारले खडेरी प्रभावित किसानका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत राहत योजना अघि बढाएको छ। यसका लागि हालसम्म २२ हजारभन्दा बढी किसानले आवेदन दिएका छन्।

मधेश सरकारले १८ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि त्यो पर्याप्त नभएको भन्दै मुख्यमन्त्री सतिशकुमार सिंहले संघीय सरकारको थप सहयोगको प्रतीक्षा भइरहेको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय