वीरगन्ज,१४ असार । वीरगन्जमा सम्पन्न नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ। आइतबार नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ११ रनले पराजित गर्दै कोशी च्याम्पियन बनेको हो।
पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ९८ रनको योगफल तयार पारेको थियो। टोलीका लागि काजल श्रेष्ठले सर्वाधिक ३८ रनको योगदान दिइन्। प्रिन्सा रानामगरले १६ तथा रुबिना क्षेत्रीले १२ रन जोडिन्।
एपीएफका तर्फबाट सबनम राई, सुमन विष्ट र सीता राना मगरले समान एक–एक विकेट लिए।
९९ रनको लक्ष्य पछ्याएको एपीएफ १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो। एपीएफका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन् भने रेवती धामीले १२ र ममता चौधरीले ९ रन जोडिन्।
कोशीको जितमा रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइन्। रिया शर्मा र निरु राजवंशीले समान २–२ विकेट लिएर एपीएफको ब्याटिङ लाइनअपलाई दबाबमा राखे।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत कोशीकी काजल श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उपाधिसँगै कोशी प्रदेशले ट्रफीका साथै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
प्रतियोगिताको समापन समारोहमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवले विजेता तथा उपविजेता टोलीका खेलाडीलाई ट्रफी, मेडल र पुरस्कार प्रदान गरेका थिए।




