बीरगन्ज,२८ जेठ । संगठनभित्रको आन्तरिक विवाद, नेतृत्वमा प्रतिस्पर्धा र गुटगत ध्रुवीकरणका कारण राष्ट्रिय स्वतन्त्र पार्टी को मधेश प्रदेश अधिवेशन अनिश्चित र अशान्त बनेको छ। नगर तथा जिल्ला अधिवेशनहरू नै प्रभावित हुनेगरी नेता–कार्यकर्ताबीच तनाव र विवाद चर्किएको हो।
धनुषा जिल्लामा २२ जेठमै पार्टी कार्यालयमा तालाबन्दी भएपछि रोकिएको अधिवेशन मंगलबार जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा पुनः सुरु गरिए पनि त्यही दिन विवाद झन् बढेको देखिएको छ। अधिवेशनकै क्रममा धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई केन्द्रीय अनुशासन आयोगले निलम्बन गरेपछि स्थिति थप तनावग्रस्त बनेको हो।
आयोगले विधान, आचारसंहिता र निर्वाचन कार्यविधि उल्लंघन गरेको आरोप लगाउँदै उनलाई पदबाट हटाएको जनाएको छ। तर निलम्बनको निर्णय अधिवेशनकै दिन आएपछि कार्यकर्ताबीच असन्तुष्टि चुलिएको थियो।धनुषामा सभापतिका लागि लक्ष्मेश्वर यादवसँगै अम्बुप्रसाद साह र सरोजकुमार पूर्वे प्रतिस्पर्धामा थिए। अधिवेशन सुरु हुनेबित्तिकै ठूलो संख्यामा कार्यकर्ता मञ्चमा उक्लिएपछि कार्यक्रम नै अवरुद्ध भएको बताइएको छ।
मधेश प्रदेशका धेरै जिल्लामा नयाँ–पुराना कार्यकर्ताबीचको टकराव, पद दोहोर्याउने आकांक्षा र नेतृत्व कब्जा गर्ने प्रतिस्पर्धाले अधिवेशनलाई असहज बनाएको नेताहरूको भनाइ छ।
पर्साबाहेक मधेशका अधिकांश जिल्लामा नेतृत्व चयनमा सहमति जुट्न नसक्दा अधिवेशनहरू प्रभावित भएका छन्। कतिपय स्थानमा विवाद कुटाकुटसम्म पुगेको देखिएको छ।पार्टीका स्थानीय नेताहरूका अनुसार अधिकांश जिल्ला सभापतिहरू पुनः दोहोरिन चाहेकाले प्रतिस्पर्धा तीव्र बनेको हो। यसले संगठनभित्र असन्तुलन र असन्तोष बढाएको उनीहरूको भनाइ छ।
कैयौँ जिल्ला सभापतिहरूले प्रदेश नेतृत्वमाथि पक्षपात र हस्तक्षेपको आरोप लगाउँदै केन्द्रीय समितिमा उजुरीसमेत दिएका छन्। उनीहरूका अनुसार प्रदेश सभापतिले आफ्नो अनुकूल समूहलाई प्राथमिकता दिएको र त्यसले अधिवेशन प्रक्रियामा असर पारेको हो।प्रदेश सभापति तपेश्वर यादवमाथि विभिन्न जिल्लामा गुटबन्दी बढाएको आरोप लगाइएको छ। यद्यपि उनीसँग सम्पर्क गर्न खोज्दा प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
राजनीतिक विश्लेषकहरूका अनुसार संगठन विस्तार तीव्र भए पनि आन्तरिक संरचना र व्यवस्थापन कमजोर हुँदा यस्तो विवाद देखिएको हो। मधेश प्रदेशका विभिन्न जिल्लामा नेतृत्वको आकांक्षा बढेसँगै प्रतिस्पर्धा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।




