काठमाडौं,२८ जेठ । भारतको ‘ककरोच जनता पार्टीले’ आज महाराष्ट्र राज्यको पुणेमा प्रदर्शन गर्ने भएको छ ।पार्टीका संस्थापक अभिजीत दीपकेले आज हुने दोस्रो विरोध प्रदर्शनको पूर्वसन्ध्यामा आमाबाबुहरूलाई आफ्ना छोराछोरीलाई खुलेर बोल्न र लोकतान्त्रिक गतिविधिहरूमा भाग लिन दिन अपिल गरेका छन् ।
यो प्रदर्शन सावित्रीबाई फुले पुणे विश्वविद्यालयको अम्बेडकर प्रतिमा स्थलमा साँझ ४ बजे आयोजना गरिनेछ, जसमा नीट–युजी पेपर लिक र सीबीएसई मूल्यांकनसँग जोडिएका समस्याहरूलाई लिएर केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिनेछ ।
बुधबार पुणेमा आयोजित पत्रकार सम्मेलनका क्रममा दीपकेले धेरै आमाबाबुहरू आफ्ना छोराछोरीले राजनीतिक मुद्दाहरूमा बोल्दा डराउने गरेको तर समाजमा परिवर्तनका लागि युवा अगाडि आउनु आवश्यक रहेको बताए । उनले आफ्नै आमाको उदाहरण दिँदै उनी आफ्नो सुरक्षालाई लिएर चिन्तित रहने गरे पनि कसै न कसैले आवाज उठाउनै पर्छ भन्ने कुरामा आफू दृढ रहेको उल्लेख गरे ।
‘ककरोच जनता पार्टी’ले यस प्रदर्शनमा सामाजिक अभियन्ता सोनम वाङ्चुक पनि सहभागी हुने घोषणा गरेको छ । बेरोजगार युवा र सामाजिक अभियन्ताहरूलाई ककरोच भनिएको एक टिप्पणीको विरोधमा हालै मात्र यस संगठनको स्थापना भएको हो ।
यसपछि सामाजिक सञ्जालमा यस अभियानलाई ठूलो समर्थन मिल्यो । र, ६ जुनमा दिल्लीको जन्तर–मन्तरमा यसको पहिलो प्रदर्शन आयोजना गरिएको थियो । द इन्डियन एक्सप्रेस




