काठमाडाैं,१४ असार । आर्थिक संकट र विज्ञापन बजारको अभावका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन सञ्चालन बन्द भएका छन्।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आयोजित मिडिया सम्मेलनमा प्रस्तुत प्रतिवेदनअनुसार प्रदेशमा दर्ता भएका १२९ एफएम रेडियोमध्ये हाल ८५ वटा मात्रै सञ्चालनमा छन् भने ४४ वटा रेडियो बन्द भइसकेका छन्।
प्रतिवेदन प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले बन्द भएका रेडियोमध्ये १६ वटा सामुदायिक रेडियो रहेको जानकारी दिए। उनले आर्थिक अस्थिरता, घट्दो विज्ञापन बजार र स्रोत अभावका कारण रेडियोसहित अन्य सञ्चारमाध्यम पनि संकटमा पर्दै गएको बताए।
काजीले आदिवासी, जनजाति तथा लोपोन्मुख समुदायले मातृभाषामा सञ्चालन गरेका सञ्चारमाध्यमलाई संरक्षण र प्रवर्द्धन गर्न कोशी प्रदेश सरकारले विशेष नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले मोफसल पत्रकारिता अहिले अवसर र चुनौतीको दोबाटोमा रहेको उल्लेख गर्दै पेसागत असुरक्षा, आर्थिक संकट र प्रविधिगत चुनौतीलाई प्रभावकारी नीतिमार्फत सम्बोधन गर्न सके मात्रै स्थानीय पत्रकारिता आत्मनिर्भर र सशक्त बन्न सक्ने बताए।
उनका अनुसार विश्वसनीयता र सम्पादकीय स्वतन्त्रता कायम राख्दै डिजिटल प्रविधिसँग अनुकूल हुन सके कोशी प्रदेशको पत्रकारिता मुलुककै लागि उदाहरणीय बन्न सक्ने सम्भावना रहेको छ।
प्रतिवेदनमा कोशी प्रदेशमा ९६ वटा पत्रपत्रिका नियमित रूपमा प्रकाशित भइरहेको उल्लेख गरिएको छ। तीमध्ये १७ दैनिक, ७३ साप्ताहिक, चार मासिक, एक द्वैमासिक र एक त्रैमासिक पत्रिका रहेका छन्।
यस्तै प्रदेशमा सात वटा टेलिभिजन, ३९७ वटा अनलाइन सञ्चारमाध्यम र स्थानीय तहमा दर्ता भएको एउटा मात्र एफएम रेडियो—आठराई एफएम—सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।




