काठमाडाैं,२८ जेठ । गृहमन्त्री गुरुङले बागमती किनारामा रहेका सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार गर्दै प्रभावित परिवारसँग माफी मागेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सुकुम्बासी हटाउने प्रक्रिया अझ व्यवस्थित र मानवीय ढंगले गर्न सकिन्थ्यो भन्ने आत्मआलोचना गरेका हुन्।
“सबै सुकुम्बासी दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट माफी माग्न चाहन्छु,” उनले भने, “मैले यस विषयमा धेरै खटेको भए पनि यो काम अझ राम्रो हिसाबमा गर्न सकिन्थ्यो होला, प्रिभेन्टिभ तरिकाले गर्न सकिन्थ्यो होला।”
उनले सुकुम्बासी व्यवस्थापनका क्रममा राज्यपक्षबाट कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सरकार अझ संवेदनशील हुने बताए। उनले व्यवस्थापन गरिएको क्षेत्रको अनुगमनमा जाने तयारी भइरहेको पनि जानकारी दिए।
गृहमन्त्रीका अनुसार अहिले सुकुम्बासीको अवस्था विपद् प्रभावित क्षेत्रजस्तै देखिएको छ। “टेन्टमा बस्नुपरेको छ, सरसफाइ र स्यानिटेसनको समस्या छ, अवस्था विपद्पछिको जस्तो छ,” उनले भने।
सरकारले सुकुम्बासी व्यवस्थापनलाई मानवीय दृष्टिकोणबाट अघि बढाउने प्रतिबद्धता जनाइएको छ।




