काठमाडौं,२८ जेठ । धान रोपाइँको मुख्य सिजन नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुने चिन्ता बढिरहेका बेला सरकारले पर्याप्त मल मौज्दात रहेको दाबी गरेको छ।
गीता चौधरी ले राष्ट्रिय सभाको बैठकमा जानकारी दिँदै देशभर गोदाम र वितरण प्रणालीमा गरी हाल १ लाख ३८ हजार ८०२ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताइन्।उनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५८ हजार ५२२ मेट्रिक टन मल आयात भइसकेको छ, जसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानसम्म पुगिसकेको छ। बाँकी मल आपूर्ति र वितरण प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार असार मसान्तसम्म करिब ६ लाख मेट्रिक टन मल वितरण गर्ने लक्ष्य राखिएको छ। विशेषगरी धान बालीको सिजनलाई ध्यानमा राख्दै आगामी असार र साउन महिनाभित्र थप ९० हजार मेट्रिक टन मल भित्रिने सुनिश्चितता गरिएको छ। सरकारले आपूर्तिकर्तासँगको सम्झौता कडाइका साथ कार्यान्वयन गरिरहेको र मल वितरण प्रणालीलाई अझ पारदर्शी तथा प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ।
मन्त्री चौधरीले हालको आपूर्ति अवस्थाले विगतका वर्षहरूमा देखिएको मल संकट समाधान हुने दिशामा सरकार अघि बढेको दाबी गरिन्। पर्याप्त मौज्दात र थप आपूर्तिको योजनाका कारण आगामी धान सिजनमा मल अभाव नहुने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ।
सरकारका अनुसार मल आपूर्ति सहज भए उत्पादनमा सकारात्मक प्रभाव पर्ने र किसानले समयमा आवश्यक मल पाउने वातावरण बन्ने विश्वास गरिएको छ।




