बीरगन्ज, २८ जेठ । पर्साको पकहामैनपुर गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, श्यामपुर भेलाहामा नयाँ विद्यालय भवन निर्माण कार्य सुरु भएको छ। भवन निर्माण मधेश प्रदेश सरकारको शिक्षा मन्त्रालयबाट विनियोजित १६ लाख रुपैयाँ बजेटमा अघि बढाइएको हो।
भवन निर्माणको शिलान्यास पकहामैनपुर गाउँपालिका अन्तर्गत सम्पन्न भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरूको उपस्थिति रहेको थियो।
नयाँ भवन निर्माणपछि विद्यालयको भौतिक संरचना सुधार भई शैक्षिक वातावरण थप सुरक्षित र विद्यार्थीमैत्री हुने विश्वास स्थानीय तहले व्यक्त गरेका छन्। हालको संरचनागत कमीका कारण भोग्नुपरेका समस्या समाधान हुने र पठनपाठन अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूका अनुसार भवन निर्माणले विद्यार्थीहरूको सिकाइ वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।कार्यक्रममा बोल्दै युवा नेता अकलेश साह ले शिक्षा क्षेत्रलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आगामी दिनमा पनि समुदाय र विद्यालय विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए।
उनले शिक्षा क्षेत्रमा लगानी गर्नु भविष्यका सक्षम नागरिक उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे।
स्थानीयवासीहरूले प्रदेश सरकार तथा सम्बन्धित पहलकर्ताप्रति आभार व्यक्त गर्दै निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न आग्रह गरेका छन्। उनीहरूले यसलाई स्थानीय तहमा शिक्षा सुधारतर्फको सकारात्मक कदमका रूपमा लिएका छन्।




