बुटवल,१४ असार । रुपन्देही प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याइएका ३९ थान आइफोन बरामद गरेको छ। लु ५३ प ३३९८ नम्बरको स्कुटरमा ल्याइँदै गरेका मोबाइल नियमित चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका मोबाइलहरूमा आइफोन १७ प्रो म्याक्सदेखि आइफोन १३ प्रो म्याक्ससम्मका मोडल रहेका छन्। ती मोबाइलको अनुमानित मूल्य २३ लाख ९० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले स्कुटरसहित मोबाइलहरू नियन्त्रणमा लिए पनि चालक भने स्कुटर छाडेर फरार भएका थिए। घटनामा संलग्न व्यक्तिको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




