बीरगन्ज,१४ असार । पर्सामा पर्याप्त मनसुनी वर्षा नहुँदा यस वर्ष धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। कृषि ज्ञान केन्द्रका अनुसार हालसम्म जिल्लाको करिब ४ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।
कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले सिँचाइ सुविधा भएका ठोरी गाउँपालिका र पर्सागढी नगरपालिकाका केही क्षेत्रमा मात्र किसानले असारे धान रोप्न सकेको बताए। अन्य अधिकांश स्थानमा भने पर्याप्त वर्षा नहुँदा किसान अझै धानको बेर्ना तयार गर्ने चरणमै रहेका छन्।
यस वर्ष पर्सामा करिब ४० हजार हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने अनुमान गरिएको छ। तर जिल्लाका अधिकांश खेतीयोग्य जमिन अझै पनि मनसुनी वर्षामै निर्भर रहेकाले वर्षा नहुँदासम्म रोपाइँले गति लिन कठिन हुने देखिएको छ।
गण्डक नहर र स्थानीय कुलोमार्फत केही क्षेत्रमा सिँचाइ सुविधा पुगे पनि त्यो जिल्लाभरका किसानका लागि पर्याप्त छैन। यही कारण पर्सामा धान रोपाइँ प्रायः साउन अन्तिमसम्म र कतिपय स्थानमा भदौको पहिलो सातासम्म जारी रहने गरेको छ।




