काठमाडौं,१६ असार । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र समृद्धि हासिल गर्न राज्यका तीनै अङ्गबीच प्रभावकारी समन्वय र साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले संविधानको मर्म र कानुनी शासनलाई अक्षुण्ण राख्दै एकीकृत रूपमा काम गरे मात्र जनअपेक्षाअनुसारको परिणाम हासिल गर्न सकिने बताए।
उनले देशलाई तीव्र विकासको मार्गमा अघि बढाउने, जनजीविकाका समस्या समाधान गर्ने तथा सुशासन स्थापित गर्ने लक्ष्य सफल बनाउन तीनै अङ्गको ‘गति र भावना’ एउटै दिशामा हुनुपर्नेमा जोड दिए।
सभामुख अर्यालले वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरूलाई स्वदेश फर्केर भविष्य निर्माण गर्ने वातावरण सिर्जना गर्नु अहिलेको प्रमुख चुनौती भएको उल्लेख गरे। नेपाललाई अवसर र सम्भावनाको देशका रूपमा विकास गर्न सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षले साझा प्रयास गर्नुपर्ने उनको भनाइ थियो।
उनले नेपाल बस्न र काम गर्न योग्य मुलुक बनेको अनुभूति विश्वभर रहेका नेपालीमा जगाउन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नीतिगत सुधार, विकास र सुशासनमा सबैको निरन्तर सहयोग र खबरदारी आवश्यक पर्ने बताए।
संसद्को भूमिकाबारे बोल्दै सभामुख अर्यालले संसद्मा कहिलेकाहीँ मर्यादा र प्रक्रियागत विषयमा अत्यधिक बहस हुँदा विकास, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता जनसरोकारका मुद्दा ओझेलमा पर्ने गरेको भन्दै चिन्ता व्यक्त गरे। उनले अनावश्यक प्रक्रियागत जटिलता हटाउँदै जनमुखी एजेन्डामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए।
सभामुख अर्यालले मुलुकको समग्र विकासका लागि अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री सोचलाई एकीकृत गर्नुपर्नेमा पनि जोड दिए। लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै नयाँ पुस्ताको ऊर्जा र नवप्रवर्तनलाई राष्ट्र निर्माणमा उपयोग गर्न सके नेपाललाई द्रुत गतिमा समृद्धितर्फ अघि बढाउन सकिने उनको विश्वास थियो।




