काठमाडाैं,२९ जेठ । सामाजिक सञ्जालमार्फत तीव्र रूपमा लोकप्रिय बनेको ‘कक्रोच जनता पार्टी (CJP)’ ले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाफदेहिताका विषयलाई केन्द्रमा राख्दै भारतभर युवा विरोध अभियान सुरु गरेको छ।
अभियानको सुरुआतस्वरूप बिहीबार पश्चिम भारतको पुणेमा सयौँ विद्यार्थी तथा युवा समर्थकहरू भेला भई प्रदर्शन गरेका थिए। सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा आयोजित र्यालीले पछिल्ला दिनमा फैलिरहेको आन्दोलनलाई थप ऊर्जा दिएको बताइएको छ। यसअघि गत साता नयाँदिल्लीमा पहिलो ठूलो सडक प्रदर्शन गरिएको थियो।
प्रदर्शनकारीहरूले सार्वजनिक परीक्षामा देखिने अनियमितता, प्रश्नपत्र चुहावट तथा शिक्षा क्षेत्रको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षामन्त्रीको राजीनामा माग गरेका छन्।
आन्दोलनका एक अगुवा अभिजीत डिप्केले पुणेमा आयोजित र्यालीलाई सम्बोधन गर्दै यो अभियान केवल सुरुआत मात्र भएको बताएका छन्। उनका अनुसार बिहीबारदेखि आन्दोलन औपचारिक रूपमा देशव्यापी बनाइएको छ र आगामी दिनमा अन्य सहरहरूमा समेत विस्तार गरिनेछ।
उनले माग सम्बोधन नभए यसै महिनाको अन्त्यतिर नयाँदिल्लीमा पुनः ठूलो प्रदर्शन गर्ने चेतावनी दिएका छन्।
यो आन्दोलनको सुरुआत सर्वोच्च अदालतका एक न्यायाधीशले बेरोजगार युवालाई ‘कक्रोच’ सँग तुलना गरेको टिप्पणीपछि भएको बताइन्छ। उक्त टिप्पणीले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाएपछि युवाहरूले त्यसलाई अपमान होइन, कठिन परिस्थितिमा पनि टिक्ने क्षमता र लचकताको प्रतीकका रूपमा ग्रहण गर्दै आन्दोलनको नामकरण गरेका हुन्।
हाल CJP ले सामाजिक सञ्जालमार्फत लाखौँ समर्थक जुटाएको छ। आन्दोलनले बेरोजगारी, बढ्दो जीवनयापन खर्च, शिक्षा प्रणालीका समस्या, भ्रष्टाचार र सरकारी जवाफदेहिताको अभावजस्ता विषयलाई मुख्य मुद्दा बनाएको छ।
विश्लेषकहरूका अनुसार पुणेबाट सुरु भएको यो अभियानले भारतका युवाबीच बढ्दो असन्तुष्टिलाई संगठित राजनीतिक अभिव्यक्तिमा रूपान्तरण गर्ने प्रयास गरिरहेको देखिन्छ।




