जनकपुर,३० जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–१२ स्थित विजलपुरा क्षेत्र शनिबार पनि तनावग्रस्त बनेको छ। एक विवाहित महिलाको शंकास्पद मृत्युको घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तको विरोध प्रदर्शन चर्किएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शनिबार बिहान करिब १० बजे घटनास्थलमा बढ्दो भीड, तोडफोड र अराजक गतिविधि नियन्त्रण गर्न तीन सेल अश्रुग्यास प्रहार गरिएको थियो। त्यसपछि केही समय भीड तितरबितर भए पनि पुनः स्थानीय भेला भएका छन्। घटनास्थलमा अहिले पनि कडा सुरक्षा व्यवस्था कायम गरिएको छ।
शुक्रबार साँझ स्थानीय शशी सिंहकी २५ वर्षीया पत्नी रिङ्कुकुमारी सिंह आफ्नै घरको कोठाभित्र सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनापछि मृतकका माइती पक्षले यो आत्महत्या नभई हत्या भएको दाबी गर्दै सासु, ससुरा र श्रीमान्लाई कारबाहीको माग गरेका छन्।
विरोध प्रदर्शनका क्रममा आक्रोशित समूहले घरमा ढुंगामुढा गर्नुका साथै एउटा कार र स्कुटरमा तोडफोड तथा आगजनीको प्रयास गरेको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा हुँदा केही प्रहरी सामान्य घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार मृतकका श्रीमान् शशी सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। तर मृतकका सासु र ससुरा सम्पर्कविहीन रहेको भन्दै आफन्त र स्थानीयले उनीहरूलाई पक्राउ नगरेसम्म शव उठाउन नदिने अडान कायम राखेका छन्।
स्थानीयवासीले घटनाप्रति गम्भीर शंका व्यक्त गर्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्। मृतकका आफन्तले रिङ्कुकुमारीले लामो समयदेखि पारिवारिक तनाव र दुर्व्यवहार भोग्दै आएको आरोप लगाएका छन्। उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्।
यसैबीच, स्थानीय जनप्रतिनिधिहरूले स्थिति सामान्य बनाउन प्रयास जारी रहेको बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अनुसार सत्य तथ्य बाहिर ल्याइने जनाएको छ।




