जनकपुर,३० जेठ । मधेश प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकसँग सम्बन्धित बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि व्यापक छलफल भएको छ। शुक्रबार बसेको सातौँ अधिवेशनको नवौँ बैठकमा प्रदेशसभा सदस्यहरूले प्रदेशको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका विषयमा आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका हुन्।
अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलमा १६ जना प्रदेशसभा सदस्य सहभागी भएका थिए। अधिकांश सदस्यले प्रस्तावित प्राथमिकताहरू सकारात्मक रहेको उल्लेख गर्दै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा थप प्रभावकारी कार्यक्रम समावेश गर्नुपर्ने आवश्यकता औंल्याए।
छलफलका क्रममा विभिन्न दलका सांसदहरूले उच्च शिक्षा संस्थाको सुदृढीकरण, नमुना विद्यालय स्थापना, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा कृषि क्षेत्रको आधुनिकीकरणलाई बजेटको मुख्य प्राथमिकतामा राख्न सुझाव दिएका थिए। साथै अधुरा विकास आयोजना समयमै सम्पन्न गर्न विशेष ध्यान दिनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।
सांसदहरूले सरकारले घोषणा गरेको रोजगारी कार्यक्रमको कार्यान्वयन प्रक्रिया स्पष्ट हुनुपर्ने, शिक्षा क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने तथा दीर्घकालीन प्रभाव पार्ने योजनामा लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए। कृषि उत्पादन वृद्धि, सिँचाइ सुविधा विस्तार तथा किसानलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने विषयलाई पनि महत्वपूर्ण रूपमा उठाइएको थियो।
छलफलमा उठेका प्रश्न र सुझावहरूको जवाफ दिँदै अर्थमन्त्री भट्टराईले उपलब्ध स्रोत, आवश्यकता र कानुनी व्यवस्थाका आधारमा योजना तथा कार्यक्रमलाई बजेटमा समेटिने बताउनुभयो। उहाँले कृषि र सिँचाइ क्षेत्रलाई आगामी बजेटको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै मलखाद, बीउबिजन र सिँचाइ सुविधाको पहुँच विस्तारमा प्रदेश सरकार केन्द्रित रहने जानकारी दिनुभयो।
यस्तै, सामाजिक विकाससँग सम्बन्धित कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिइने तथा अधुरा र गौरवका आयोजनाहरूलाई सम्पन्न गर्न विशेष बजेट व्यवस्था गरिने पनि उहाँले स्पष्ट पार्नुभयो।
प्रदेशसभाको अर्को बैठक जेठ ३१ गते बस्ने गरी शुक्रबारको बैठक स्थगित गरिएको छ।




