spot_img

नेपाल–भारत सीमामा सुरक्षा कडा बनाउन पर्खाल वा काँडेतार आवश्यक : आशिका तामाङ

spot_img
spot_img

काठमाडौं,०१ असार । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपाल–भारत सीमामा सुरक्षा सुदृढ बनाउन आवश्यक परे पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई देशबीचको सहमतिमा सीमावर्ती क्षेत्रमा भौतिक संरचना निर्माण गरेर सीमा सुरक्षा मजबुत पार्नुपर्ने धारणा राखिन्। “आवश्यक परे पर्खाल, नभए काँडेतार लगाएर भए पनि सीमाको संरक्षण सुनिश्चित गर्नुपर्छ,” उनले भनिन्।

सांसद तामाङले कुनै पनि राष्ट्रको सार्वभौमिता आफ्नो भूभागको सुरक्षा र सीमाको सुनिश्चिततासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै राज्यले आफ्नो भूमि जोगाउन नसके राष्ट्रिय स्वाधीनतामाथि नै प्रश्न उठ्ने चेतावनी दिइन्।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता संवेदनशील क्षेत्रहरू नेपालको अखण्डता र राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय भएकाले सरकार गम्भीर हुनुपर्ने बताइन्। यस्ता समस्या अन्य सीमावर्ती क्षेत्रमा पनि देखिएको भन्दै उनले समग्र सीमा व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन्।

त्यसैगरी सुस्ता क्षेत्रको समस्या लामो समयदेखि समाधान हुन नसकेको उल्लेख गर्दै उनले पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि र स्थानीय नागरिकमाथि भएको भनिएको दबाबबारे सरकारसँग स्पष्ट जानकारी मागिन्।

सीमासम्बन्धी सबै विषयको तथ्यगत छानबिन गर्दै कूटनीतिक पहलमार्फत विवाद समाधान अघि बढाउनुपर्नेमा जोड दिँदै सांसद तामाङले सरकारलाई ठोस रणनीति सार्वजनिक गर्न आग्रह गरिन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय