काठमाडौँ,०१ असार । प्रमुख विपक्षी दल नेकपा एमालेले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई पुराना फाइल खोल्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ‘टि स्टेट’ प्रकरणबाटै छानबिन सुरु गर्न चेतावनी दिएको छ।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्रीले दिएको अभिव्यक्तिलाई ‘आपत्तिजनक’ बताइन् । उनले भनिन्, “फाइल खोल्ने कुरा गर्नुहुन्छ भने पहिलो नम्बरमै ‘टि स्टेट’को फाइल खोल्नुस्।”
अर्यालले विगतमा चर्चामा आएका यति–ओम्नी प्रकरण जस्ता मुद्दाहरू पनि पारदर्शी रूपमा सार्वजनिक गर्न माग गरिन्। आरोपहरू सत्य ठहरिएनन् भने व्यक्तिको स्वाभिमानमा आँच पुग्ने भन्दै त्यसको जिम्मेवारी अर्थमन्त्रीले कसरी लिने भन्ने प्रश्नसमेत उनले उठाइन्।
एमालेले सरकारलाई आरोप–प्रत्यारोपभन्दा माथि उठेर तथ्यमा आधारित छानबिन गर्न आग्रह गर्दै विवादित विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न दबाब दिएको छ।




