काठमाडौं,०३ असार । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजन द्वारा विभिन्न समयमा गरिएका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन र छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयको २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. सुदीप भट्टराई को संयोजकत्वमा समिति गठन गरिएको हो। समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयमा तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
समितिको कार्यादेशअनुसार ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धमा विस्तृत अध्ययन गरिनेछ।
यी विषयमा विभिन्न निकायमा उजुरी तथा गुनासो परेपछि मन्त्रालयले आन्तरिक जानकारी संकलनका लागि समिति गठन गरेको जनाएको छ।
पछिल्ला वर्षहरूमा नेपाल टेलिभिजनको प्रविधि आधुनिकीकरणका क्रममा भएका खरिद प्रक्रियामाथि पारदर्शिता र कानुनी प्रक्रिया पालना सम्बन्धी प्रश्नहरू उठ्दै आएका छन्। यसअघि पनि मन्त्रालयले स्याटेलाइट खरिद प्रकरणमा छानबिन समिति गठन गरेको थियो।




