जनकपुर,०५ असार । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वस्थ जीवनका लागि नियमित योगाभ्यासलाई दैनिक जीवनको हिस्सा बनाउन आग्रह गरेका छन्।
जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित विशेष योग कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले योग केवल शारीरिक अभ्यास मात्र नभई स्वस्थ शरीर, सकारात्मक सोच र सन्तुलित जीवनशैलीको आधार भएको बताए। उनले प्रत्येक व्यक्तिले दैनिक कम्तीमा एक घण्टा योगका लागि समय छुट्याउनुपर्नेमा जोड दिए।
“व्यस्त जीवनशैलीका बीच पनि स्वास्थ्यलाई प्राथमिकता दिन आवश्यक छ,” उनले भने, “नियमित योगले शरीरलाई तन्दुरुस्त राख्नुका साथै मानसिक सन्तुलन र सकारात्मक सोचको विकास गर्न मद्दत गर्छ।”
कार्यक्रममा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले पनि योगलाई निरोगी जीवनको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै यसको ज्ञान र अभ्यास समुदायको तल्लो तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
पर्सास्थित भारतीय महावाणिज्य दूतावास र पतञ्जली योग समिति मधेस प्रदेश समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले योगलाई केवल एक दिवसमा सीमित नराखी दैनिक जीवनशैलीको अंग बनाउन सके शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरेका थिए।




