चितवन,०५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारेको छ। चितवनको भरतपुरमा हुने महाधिवेशनको उद्घाटन समारोहलाई भव्य र सांस्कृतिक झल्को दिने गरी आयोजना गर्ने तयारी गरिएको छ।
महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र साह ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। विभिन्न राजनीतिक दलका नेताहरूलाई समेत शुभकामना दिन आमन्त्रण गरिएको छ।
भरतपुरको गेस्ट हाउस चौरमा हुने उद्घाटन समारोहका लागि घाम–पानी छेक्ने संरचना सहित ठूलो ‘जर्मन ह्याङ्गर’ तयार गरिएको छ, जसमा करिब १० हजार सहभागी अट्न सक्ने दाबी गरिएको छ। उद्घाटन कार्यक्रम असार ७ गते दिउँसो २ बजे सुरु हुने छ।
महाधिवेशनको बन्दसत्र भने चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने तय गरिएको छ। सुरुवातमा स्थान टाँडीमा गर्ने भनिए पनि अन्तिम समयमा भरतपुर सारिएको हो।
पार्टीका अनुसार महाधिवेशनमा १ सय प्रतिनिधि प्रत्यक्ष निर्वाचनबाट छनोट हुनेछन् भने बाँकी मनोनयनमार्फत चयन गरिनेछ। मतदानका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (इभीएम) प्रयोग गरिने तयारी पनि गरिएको छ।
प्रतिनिधिहरूको बसोबासका लागि भरतपुर, नारायणगढ, सौराहा, टाँडी लगायत क्षेत्रका होटलहरू बुक गरिएको छ। प्रतिनिधिहरूले होटल खर्च आफैं बेहोर्नुपर्ने व्यवस्था गरिएको छ भने खाना–खाजा र अन्य व्यवस्थापन पार्टीले गर्नेछ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूबाट ५ हजार रुपैयाँ शुल्क लिने तयारी गरिएको छ। साथै, कार्यक्रमलाई चितवनको संस्कृति झल्किने नृत्य र प्रस्तुतिहरूले पनि रंगीन बनाइने बताइएको छ।
बन्दसत्रका लागि उद्योग मन्त्रालय र गृह मन्त्रालयको समन्वयपछि चितवन उद्योग संघले सभाहल प्रयोग गर्न अनुमति दिएको हो। सुरक्षा र उच्चस्तरीय उपस्थितिलाई ध्यानमा राख्दै आवश्यक व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।




